उप–निर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी बैशाख १० मा हुने उप–निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा हुने भनिएका उपनिर्वाचन बहिष्कार गर्ने जानकारी गराएका हुन् ।
पार्टीले वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा संघीय जनगणतन्त्र नेपाल स्थापनाको लागि अगाडि बढ्न अपिल समेत गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले प्रतिक्रियावादी सत्ता अन्तर्गत हुने सबै तहका निर्वाचनलाई कार्यनीतिको प्रश्न मान्दछ र यही मान्यता अनुसार कहिले हामीले निर्वाचनको उपयोग त कहिले बहिष्कार गर्दै आएका छौँ । यही नीति अनुसार गत स्थानीय निर्वाचन सहित प्रादेशिक तथा सङ्घीय निर्वाचन हामीले बहिष्कार गरेका थियौँ । हाम्रो यो नीति अहिले पनि कायम छ ।’
