उप–निर्वाचनको मनोनयन दर्ता गर्न जाँदा जुलुस गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले उप–निर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शनदेखि झण्डासमेत निषेध गरेको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन गइरहेको उप–निर्वाचनका लागि उम्मेदवार मनोनयनमा मन्त्रीहरू जानसमेत निषेध गरिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडयालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरकारी कर्मचारी पनि उम्मेदवारको मनोनयनमा जान नहुनेसहित १० बुँदे आचारसंहिता स्मरण गराएका हुन ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानुनको अधीनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्ने उल्लेख गर्दै आयोगले सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुनेछ भन्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
