बागमती प्रदेश सरकारबाट बाहिँरिदै एमाले

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार ०९:१३
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । एमालेका ४ मन्त्रीहरूले शुक्रबार बस्ने प्रदेश सभा बैठकमा घोषणा गरेर पदबाट राजीनामा दिने तयारी गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

उनका अनुसार, एमालेले शुक्रबार १ बजे बस्ने प्रदेश सभा बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीहरूले राजीनामा दिने भएको हो ।

सरकार गठनका लागि गत पुस १० गते भएको एमाले र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमति एकतर्फी रूपमा माओवादी केन्द्रले तोडेको उनको आरोप छ । उनले बुधबारको बैठक स्थगित भएको प्रति असन्तुष्टि व्यक्त गर्दै शुक्रबारको बैठकमा एमालेका सबै सांसदहरू भने उपस्थित नहुने जानकारी दिए ।

एमालेले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने तयारी गरेको प्रमुख सचेतक पौडेलले बताए । मुख्यमन्त्री जम्मरकट्टेलले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत पुनः विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले सांसदबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप विश्वासको मत लिनका लागि गत चैत्र ८ गते बुधबार अपराह्न ३ बजे विश्वासको मत लिनका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि सुचना टाँसेर स्थगित गरिएको थियो ।

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।

गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।