लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
उनका अनुसार, बैठकमा सरकारमा सहभागिता, बैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।
लोसपाका एक नेताले मन्त्रालयमा सम्मानजनक बाँडफाँट भए लोसपा पनि सरकारमा सहभागी हुने बताए । बैठकमा बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुनेछ ।
बारा २ मा बढी चासो देखाएको लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउन चाहेको छ । तर, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने प्रयासमा छन् ।
बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेकाले सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।
यसैगरी तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले र चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको छ ।