उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

तु खबर संवाददाता
२०८१ मंसिर ५,बुधबार ०८:०५

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनको तालिकाअनुसार आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको हो ।

त्यसअघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय तोकिएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपश्चात दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुने र दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ ।

देशभरका कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।