जनमोर्चा पार्टीले संघीयताविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध आगामी चैत्र१० गतेदेखि देशव्यापी अभियान संचालन गर्ने भएको छ । फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत्र १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान संचालन गर्ने निर्णय गरेको हो ।
उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । यही अभियान अन्तर्गत चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू संचालन गरिने छ ।
नेपालसहित विश्वभर देखिएको आर्थिक संकटको परिप्रेक्षमा संघीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताए । परिषद्को बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको तात्कालिक राजनैतिक प्रस्ताव पारित गरेको छ । यस्तै, बैठकले चैत्र २८ गते काठमाडौंमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
२०८० साल बैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय गरेको जनमोर्चाले असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्नेछ ।
