स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी फिर्ता लिने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार, गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा तोकिएको हो ।
कार्यतालिका अनुसार, आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै, उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार, चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
स्ववियु निर्वाचन चैत्र ५ गते हुँदैछ । शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली सार्वजनिक गर्ने काम भएको थियो । तर, उपत्यका र उपत्यका बाहिर ७–७ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
