बागमती प्रदेश सभामा विधेयक व्यवस्थापन विशेष समिति गठन

तु खबर संवाददाता
२०७९ फाल्गुन १४, आईतवार ०९:१९
file-photo

मकवानपुर । बागमती प्रदेश सभाको शनिबार साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सभाले फागुन १० गते संसदमा पेश भएको कर्मचारी सम्बन्धी दुई वटा अध्यादेशको प्रतिस्थापन विधेयकमाथि दफावार छलफल गर्न र प्रतिवेदन पेश गर्न १५ सदस्यीय विधेयक व्यवस्थापन विशेष समिति गठन गरेको हो ।

बैठकमा सभामुख भुवन कुमार पाठकले दलीय सहमतिको आधारमा विधेयक व्यवस्थापन विशेष समिति गठन गरिएको जानकारी गराए । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फागुन १८ गतेभित्र पारित गर्नुपर्ने कानूनी बाध्यता भएकोले विधेयकहरुमाथि दफाबार छलफल गरी सभासमक्ष प्रतिवेदन पेश गर्न उक्त समिति गठन गरिएको सभामुख पाठकले बताए ।

उक्त विशेष समितिमा प्रदेश सभाका सदस्यहरु क्रमशः आशा लामा, उद्धब थापा, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, जयराम थापा, डा.दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, राधिका तामाङ, रत्नप्रसाद ढकाल, बसन्तप्रसाद मानन्त्रर, शैलेन्द्रमान बज्राचार्य, मधुसुधन पौडेल, सृजना सैजू र सुरेन्द्र राज गोरसाईँ रहेका छन् ।