आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरुमा हुस्सु लागेको छ ।
आज दिउँसो प्रदेश एकका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
प्रदेश–१ का हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू–भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
