प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

तु खबर संवाददाता
२०७९ माघ १२, बिहीबार १८:४१

काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा मृतयु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

गृह मन्त्रायले मन्त्रालयका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन हो ।

समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमार्फत आफूले व्यापार व्यवसाय गर्दा झेल्नु परेका समस्यालाई उल्लेख गरेका थिए ।

आचार्यले मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका थिए । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहान ५ बजेको क्रममा मृत्यु भएको थियो ।