आरोप र सत्य फरक हुन्, अनुसन्धानमा सहयोग गर्छु : गृहमन्त्री सुधन गुरुङ

तु खबर संवाददाता
२०८३ बैशाख ७, सोमबार १४:३२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानीसम्बन्धी आरोपहरू अस्वीकार गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आरोप र वास्तविकता एउटै नभएको जिकिर गरेका हुन्। विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पार्दै उनले प्रमाणका आधारमा मात्र निष्कर्ष निकाल्न आग्रह गरेका छन्।मन्त्री गुरुङले आफ्नो सम्पत्ति विवरणमा २ करोड रुपैयाँभन्दा बढीको लगानी स्पष्ट रूपमा उल्लेख गरिएको बताएका छन्। आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने आरोप निराधार भएको उनको दाबी छ। मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक विवरणमै उक्त लगानी समेटिएको उनले स्पष्ट पारे।

लगानीको स्रोतबारे उठेका प्रश्नको जवाफ दिँदै उनले २०८० भदौ २९ गते लिएको ऋणमार्फत रकम जुटाइएको जानकारी दिएका छन्। सो रकम बैंकिङ च्यानलमार्फत आएको र लगानीमा प्रयोग गरिएको उनले उल्लेख गरेका छन्। “बैंकबाट गएको पैसाको सबै विवरण अभिलेखमा हुन्छ,” उनले भने।सम्पत्ति शुद्धीकरण प्रकरणमा हिरासतमा रहेका दीपक भट्टसँगको कथित साझेदारीबारे पनि उनले स्पष्टीकरण दिएका छन्। एउटै कम्पनीमा सेयर किनेकै आधारमा व्यक्तिगत साझेदारी ठहर गर्न नमिल्ने उनको तर्क छ। “एउटै कम्पनीमा सयौँ–हजारौँ लगानीकर्ता हुन्छन्, सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन,” उनले भने।

उनले स्टार माइक्रो इन्स्योरेन्सलिबर्टी माइक्रोमा गरिएको लगानी पनि सम्पत्ति विवरणकै दायराभित्र रहेको र यो लुकाउने विषय नभई वर्गीकरणको मात्र प्रश्न भएको बताएका छन्।मन्त्री गुरुङले मन्त्री बन्नुअघि नै सेयर खरिद गरिएको स्वीकार गर्दै नेपालमा सेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गरेका छन्। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु गलत भएको उनको भनाइ छ।यसबीच नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै छानबिनको माग गरेको छ। उता उनले रवि लामिछानेसँग भेट गरी यस विषयमा जानकारी गराएको जनाइएको छ।गुरुङले पार्टीको निर्णय पूर्ण रूपमा मान्ने र अनुसन्धान प्रक्रियामा आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। “निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने।