आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमाली तथा पहाडी क्षेत्रमा हिमपात तथा हल्का वर्षा र तराईका भू–भागहरूमा विहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
