आज यी ६ प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभरको हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको अवस्था छ ।
आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू–भागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभरको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
