कांग्रेसले माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने

तु खबर संवाददाता
२०७९ पुष २५, सोमबार १८:१२

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ पहिलो साताभित्र विभाग र भातृ संस्था गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको हो ।

पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई अगाडि बढाउने कांग्रेसको तयारी छ । पाँच दलीय गठबन्धन भत्किएपछि प्रतिपक्षी कित्तामा पुगेका कांग्रेसले सङ्गठन निर्माणलाई प्राथमिकता दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दल, महिला संघ, नेविसंघ, आदिवासी जनजाति संघ, किसान संघ लगायतका भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर केन्द्रीय समिति विस्तारको तयारी थालनी निर्देशन दिएका छन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङ, महिला संघ अध्यक्ष उषाकुमारी राउत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, किसान संघका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघका अध्यक्ष ओमबहादुर घर्ती मगरलाई समिति विस्तारको तयारी थाल्न निर्देशन दिएका हुन् ।

कांग्रेसले केन्द्रीय विभाग गठन गरेर कांग्रेसले १४ सय २८ जना कार्यकर्तालाई जिम्मेवारी दिन लागेको छ । देउवाले सांसद बाहेकलाई मात्र पार्टीको विभागीय जिम्मेवारी दिने नीति बनाएको बुझिएको छ ।