गृह मन्त्रालयको सभाहलमा आपतकालीन द्वार राख्न निर्देशन

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १७:५४
file-photo

।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले सो कुराको निर्देशन दिएका हुन् ।

उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सभाकक्षमा आपतकालीन द्वार राख्न निर्देशन दिएका हुन् । बैठकमा उनले भने, ‘हामी जम्मा भएको हलमा नै इमर्जेन्सी एक्जिट छैन । अहिले भर्खरै भुइँचालो गयो भने हामी यहीँ जोखिममा पर्न सक्छौं । त्यसकारण आजैबाट यहाँ कम्तीमा एउटा इमर्जेन्सी इक्जिटको ढोका अध्ययन गराएर व्यवस्था गर्न म निर्देशन दिन चाहन्छु ।’

भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्याउन सकिने उनको भनाइ छ । उनले भूकम्पीय जोखिम न्यूनिकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने बताए ।