उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार १७:११

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरूः नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकरण गरेका थिए ।

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ ।

यसैगरी, नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिए ।

सो क्रममा उनले जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेको चर्चा गरे । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरु प्रति समेत उनले सम्मान प्रकट गरे ।

संगठनको विकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’

प्रविधिको विकास संगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उनले बताउँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताए ।

उनले महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संवेदनशील भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत उनले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ–आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताए ।

उनले सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत उल्लेख गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।