मधेश प्रदेशसभाका सदस्यद्वारा शपथ ग्रहण
जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेशसभाका १०४ नवनिर्वाचित सदस्यहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सदस्य छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले शपथ लिन पाएनन् ।
क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबै जनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले जानकारी दिए ।
मधेश प्रदेशसभामा १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
