आजदेखि भन्सार घोषणा नभएका मोबाइल नचल्ने

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार ०८:३६
file photo

काठमाडौं । आजदेखि भन्सार घोषणा नभएका मोबाइल सेटहरु नचल्ने भएका छन् । आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको जनाएको छ ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर, एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको हो ।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । अब भने दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ ।