आज यी दुई प्रदेशको हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु लागेको छ ।
आज दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति भने प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भू–भागमा हिमपात र तराईका केही भू–भागमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
