कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव आज हुँदै

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार ०८:१९

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव आज हुँदैछ । बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज चुनाव हुने भएको हो ।

चुनाव कांग्रेस संसदीय दलको कार्यालय हेटौंडा परिसरमा हुने भएको हो । संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त (मनोनयन) को समय तोकिएको छ ।

यस्तै, आज बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि बिहान ११ बजेदेखि ११ः३० बजेसम्मको समय तय गरिएको छ ।

दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिने छ भने दिउँसो १२ः३० देखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सकिने छ भने दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ र २ बजेबाट मतदान सुरु गरिने छ ।

मतदानको लागि निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लामवद्ध रुपमा रहेर मतदान गर्न सकिने छ । समितिले मतदानका लागि आफू निर्वाचित भएको प्रमाणपत्र अनिवार्य गरेको छ । निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने समितिले जनाएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा प्रतिस्पर्धामा रहेका छन् । दुबै नेता कांग्रेस संस्थापन पक्षका हुन् । लामा नुवाकोटबाट निर्वाचित भएका हुने भने इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित भएका हुन् ।