राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तोक्ने निर्वाचन आयोगको तयारी

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार १६:५५

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तोक्ने तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

उनका अनुसार, वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिँदैछ । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्थालाई लक्षित गरी माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा रहेको आयोगका प्रवक्ता अर्यालले जानकारी दिए ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ ।

यस निर्वाचनमा संघीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसंख्या अनुसार, यी पदको निर्वाचनका लागि संघयि संसद्काप्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ । निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ ।