कांग्रेस संसदीय दलको नेता चयन गर्न समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति ताक्ने छ ।
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका ८९ जना सांसदले संसदीय दलको नेता चयन गर्ने छन् ।
