निर्वाचन आयोग : मंसिर २६ गते समानुपातिकका सांसद घोषणा गर्ने
काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।
राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।
