समानुपातिक सूची पठाउन राजनीतिक दलहरुलाई निर्देशन

तु खबर संवाददाता
२०७९ मंसिर २२, बिहीबार १६:४३

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर २४ गतेभित्र समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली पठाउन राजनीतिक दलहरुलाई समय सीमा तोकेका छन् । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउन पत्राचार गरिएको उनले बताए । समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो ।

दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।