रुपन्देही–२ को मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १६:१२

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्वर २ मा स्थगित मतगणना पुनः सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो ।

बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धनसहित केही दलले मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए । सोही माग अनुसार शुक्रबार बिहानबाट त्यहाँ मत गणना स्थगित भएको थियो ।

‘मत पेटिकाभित्र भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारू गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयअनुसार हुन अनुरोध छ,’ आयोगका उपसचिव ऋषिराम भुसालले पठाएको पत्रमा भनिएको छ ।