दाङ–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिए

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १०:५७

दाङ । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ मा हस्ताक्षर नभएको ८८ वटा मतपत्र भेटिएका छन् । मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।

मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरुले आवाज उठाएपछि केहीबेर मतगणना स्थगित भएको थियो ।

अहिले भने मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको बताए ।