तेह्रथुमको छथरमा पुनः मतदान हुने
तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ ।
जिल्लाको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुल्न आएको छ ।
