गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसको आह्वान
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेको छ । पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फ रुख चिह्न र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति लाग्न आह्वान गरेका हुन् ।
‘हामी समानुपातिकतर्फको मत आफ्नो पार्टीलाई माग्छौ । १६५ वटै प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभामा हामीले रुख चिह्नमा मत माग्छौ, यसमा कहाँ कतै दुविधा हुनुहुँदैन’, प्रवक्ता महतले भने, ‘प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएका ठाउँमा पनि समानुपातिकतर्फ रुख चिह्नमा मतदान गर्न पार्टीका सबै साथीहरूलाई अनुरोध गर्दछु ।’
उनले प्रतिनिधि सभा र प्रदेश सभाका ६१ स्थानमा कांग्रेसका उम्मेदवार नभएको भन्दै प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएपनि जुन दललाई समर्थन गरिएको हो त्यो उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे ।
