उम्मेदवारलाई निर्वाधरूपमा प्रचार-प्रसार गर्न दिन आयोगको निर्देशन

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार ०८:१४

काठमाडौं । निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचार–प्रसार गर्न/गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचार–प्रसार गर्न/गराउन दिन निर्देशन दिएको हो ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचार–प्रसार गर्न र गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवम् आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो ।