‘मैले सुखी र खुसी मकवानपुरको सपना देखेको छु’

तु खबर संवाददाता
२०७९ कार्तिक २६, शनिबार ०९:४९

मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को (ख) प्रदेश सभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बनेका गुञ्जनबहादुर न्यौपोले मतदाताको आवश्यकता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ओमटोलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताउँदै आफुले मकवानपुरको विकास र जनताको खुसीको बारेमा ठूलो सपना देखेको र त्यसलाई साकार बनाउन मतदाताहरुले मतदान गर्नेमा आफु विश्वस्त रहेको बताए । उनले भने, ‘मतदाताको मतको अपमान गर्नेलाई अब पाखा लागउनुपर्ने समय आएको छ । मैले सुखी र खुसी मकवानपुरको सपना देखेको छु । त्यसलाई साकार बनाउन म चुनावमा होमिएका हुँ । आशा छ तपाईहरुले मलाई विश्वास गर्नुहुनेछ ।’

चुनाव जितेर जाने तर, चुनाव जितिसक्योपछि जनतालाई परेको बेलामा वास्ता नगर्ने सँस्कार राजनीतिक दलहरुमा पहिलेदेखि नै चलिआएको भन्दै उनले अब पनि जनताले त्यसलाई मनन् नगरी फेरी मत दिनु भनेको मत फाल्नु बराबर रहेको बताए । उनले भने, ‘चुनाव जितेर जाने, जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु बराबर हो ।’

न्यौपानेले जनताको शिर निहुराउने काम आफुबाट कदापी नहुने बताउँदै घुस र भ्रष्टाचार गरेर नखाने प्रतिबद्धता जनाए । जनताले बैकल्पिक शक्तिको रुपमा राप्रपालाई खोजिरहेको भन्दै उनले सबैलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।