भारत सरकारद्वारा नेपाललाई ८० वटा सवारीसाधन उपहार
काठमाडौं । निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारीसाधन उपहार स्वरूप प्रदान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनको लागि भारत सरकारले निर्वाचन आयोगलाई सवारीसाधन प्रदान गरेको हो ।
उक्त सवारीसाधन बिहीबार एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई हस्तान्तरण गरेका हुन् ।
यी सवारीसाधनले आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पु¥याउने जनाएको छ ।
नेपालको अनुरोधमा उपलब्ध गराइएका २ सय वटा सवारी साधनकै हिस्साका रूपमा यी ८० वटा सवारीसाधन रहेका छन् ।
नेपालको अनुरोधमा विगतका वर्षहरूमा पनि भारतले आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको थियो । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहार स्वरूप प्रदान गरिसकेको छ ।
