प्रचार–प्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति अनिवार्य
काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ ।
बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारणा गरेका सबैले निर्वाचनको प्रचार–प्रसारमा जाँदा आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याएका हुन् ।
उनले निर्वाचन आचारसंहितामा व्यवस्था गरिए अनुसार कुनै पनि सरकारी स्रोत र साधनको दुरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । साथै उनले आचारसंहिता अनुसार निर्वाचन प्रचार प्रसारका लागि अव स्वाभाविक रुपले आमसभा, कोणसभा आदिइत्यादि गर्दा बनाइएका मञ्चहरु, त्यसका लागि तयारी गर्दा लागेका खर्चहरू गरी उम्मेदवारले आफैं वा आफ्ना प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिन भित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ, प्रदेश र स्थानीय सरकारले निर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग गरे, नगरेको अनुगमनका लागि आवश्यक व्यवस्था मिलाइएको पनि स्पष्ट पारे ।
