सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
सन्दीपमाथि गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधार प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।
