निर्वाचन आयोग : मतपत्र छपाईको काम अन्तिम चरणमा

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार ०८:३७

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाई सम्पन्न भइसकेको छ ।

मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाई भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

छपाई भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधि सभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।

निर्वाचन आयोगले छपाईसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ ।