अब एक करोड थान मात्रै मतपत्र छाप्न बाँकी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र छाप्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार, दुबै प्रणालीतर्फ गरी करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा हालसम्म करिब सात करोड मतपत्र छपार्इ भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
छपार्इ भइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ ।
