हेटौंडा ४ मा गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनको हेटौंडा–४ मा मकवानपुर क्षेत्र नम्वर १ र प्रदेशसभा १ (ख) को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ ।
सोही अवसरमा अगुवा कार्यकर्ता भेटघाट गरी चुनावलक्षित छलफल गरिएको छ ।
लोकतान्त्रिक बाम गठबन्धन हेटौंडा–४ का संयोजक हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य मानकुमारी पाख्रिन, एकीकृत समावादीका नेता मधु अधिकारी, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, सचिव भीमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, प्रदेशसभाका उम्मेदवार आनन्तराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरुले गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जरुरी भएको उल्लेख गरे । कांग्रेसका वडा सचिव विजय कार्कीले कार्यक्रमलाई सहजिकरण गरेका थिए ।
