विरोध खतिवडा भन्छन्ः धेरै खरखर नगर्नू, बँदेल खान पाइन्छ तर कानून भन्छः मार्न पाइँदैन दण्डनीय हो

तु खबर संवाददाता
२०७९ कार्तिक १०, बिहीबार ०९:५६
file-photo

हेटौंडा । पूर्व स्वास्थ्यमन्त्री एवम् प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदवार विरोध खतिवडाले निकुञ्ज क्षेत्रमा तारबार गर्दा बँदेलको मासु खान नपाइने चिन्ता व्यक्त गरेका छन् ।

चुनावी प्रचारप्रसार कार्यक्रममा उनले निकुञ्ज क्षेत्रमा तारबार गर्दा बँदेलको मासु खान नपाइने भन्दै भामण गरेपछि उनको भाषणलाई लिएर अनेक टिक्काटिप्पणी भइरहेको छ ।

उनले भनेका छन् ‘अघि इन्द्र बानीयाँ जीले भन्नुभो, तारबार बाँध्ने, यताबाट बाँध्ने, इलेक्ट्रिक लाउने, अनि ड्याम उठ्छ, ढ्याकढुक गर्ने अनि आउँदैन भन्नेकुरा ठिक हो, तर घाटा पनि छ, घाटा के छ भन्नु न यसो बँदेल घुम्न आउँथ्यो, स्वाट्ट पार्न पाइन्थ्यो, त्यो त नपाईने भो, कहिलेकाँही यहाँका साथिहरुले दाई बँदेल छ भनेर यसो १–२ किलो पठाइदिन्थे, त्यो खान नपाईने भो ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को चौथोे संशोधन २०४९ ले निकुञ्जमा संरक्षित वन्यजन्तुको चोरी सिकारी वा हानी नोक्सानी पुर्याउने कार्यलाई बर्जित गरेको छ ।

ऐनको अनुसूचि १ को दफा १० मा सानो जातको बँदेललाई संरक्षित वन्यजन्तुको रुपमा समावेश गरिएको छ । सो ऐनमा संरक्षित वन्यजन्तुलाई मार्ने वा घाइते बनाउनेलाई एक लाखदेखि ५ लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षदेखि १० वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ ।

पटक–पटक प्रतिनिधिसभा सांसद् चुनिएर स्वास्थ्यमन्त्रीसमेत भइसकेका र कानूनको जानकारको रुपमासमेत चिनिएका खतिवडाले गैरकानूनी कार्य गरेको खुलेको छ । उनले यसअघि पनि बँदेल खाएको भन्दै आफैंले भाषण गरेका हुन् ।

यस विषयमा तु खबरले खतिवडासँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनले बँदेल मारेर खान पाइने बताए । उनले पत्रकारलाई निर्देशनात्मक शैलीमा भने, धेरै खरखर नगर्नू, बँदेल खान पाइन्छ, बँदेल खान स्वीकृति छ, त्यही भएर मैले त्यस्तो बोलेको हुँ ।