मीना र राजेशले गरिसकेको काम एमालेको घोषणापत्रमा : खतिवडा
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले गरिसकेको कामहरु अहिले एमालेको घोषणापत्रमा रहेको बताएका छन् ।
बुधबार हेटौंडा–३ बसामाडीमा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले एमालेको घोषणापत्रमा झुट र आश्वासनको नारा मात्रै रहेको आरोप लगाए । ‘निशुल्क पानी, निशुल्क विजुली दिने भनेर लेखिएको छ । एमालेले दिइरहनै पर्दैन नि त्यो काम त हाम्रो हेटौंडाका मेयर मीना लामा र उपमेयर राजेश बानियाँले सुरु गरिसकेका छन्’, उनले भने, ‘अघिल्लो पटक पानी जहाज, रेल, घरघरमा पाइपबाट ग्याँस लगायतको झुटो सपना बाँडिएको थियो । न त्यो सपना पूरा भयो न त अहिले ती योजना घोषणापत्रमै समेटिएका छन् । अब जनता केपी ओलीको हावा कुराको पछि लाग्दैन ।’
पार्टी कब्जा गर्ने र १०÷१५ बर्ष प्रधानमन्त्री बनिरहने केपी ओलीको लोभले एमाले फुटेको र गठबन्धन बनेको उनले बताए । अहिले गठबन्धनमा हिजोका आन्दोलनमा संगै भएकाहरु रहेको र एमालेसंग राजा फर्काउछु भन्ने राजेन्द्र लिङ्देन, आन्दोलनमा दमन गर्ने कमल थापा र मुलुक टुक्राउँछु भन्ने सीके राउतहरु सहित प्रतिगमनकारीहरु रहेको आरोप लगाए ।
एमालेका उम्मेदवारले अहिले मकवानपुरमा अनेक झुटा आश्वासन र आरोपप्रत्यारोप गरेको भन्दै खतिवडाले भने, ‘बा प्रधानमन्त्री र काका मुख्यमन्त्री हुँदा किन केही नगर्या ? त्यसबेला महेश बर्तौला र लालबहादुर थापाहरु कहाँ थिएँ ? आफ्नो गाउँठाउँमा कति बजेट ल्याए ? बहुमतको सरकार भत्काउने, अहिले फेरि सरकार बनाउछु भोट दे भन्दै आउन लाज लाग्दैन ?’ एमालेको युवा उम्मेदवार चाहिने नीति हो भने झापाबाट केपी बालाई र मकवानपुर १ बाट कमल काकालाई फिर्ता बोलाउन माग गरे । ‘एउटै जिल्लामा राप्ती वारी युवा, राप्ती पारी कमल काका ?’, उनले भने, ‘झापामा बृद्ध बा भएपनि हुने मकवानपुर २ मा युवा चाहिने ?’
