कुन पार्टीबाट कति छन् महिला र पुरुष उम्मेदवार ?

तु खबर संवाददाता
२०७९ कार्तिक ५, शनिबार १६:४१
file-photo

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्प्रर्धामा छन् । प्रतिनिधि सभा सदस्यका लागि दलहरुले धेरै संख्यामा पुरुष उम्मेदवार खडा गरेका छन् ।

प्रतिनिधि सभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहेका छन् भने २२५ जना महिला उम्मेदवार रहेका छन् । १४१ कुल उम्मेदवार उठाएको एमालेमा १३० पुरुष उम्मेदवार रहेका छन् भने ११ जना महिला उम्मेदवार रहेका छन् । १४० कुल उम्मेदवार उठाएको राप्रपाले १३२ पुरुष उम्मेदवार र ८ जना महिला उम्मेदवार उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कूल १३१ उम्मेदवार उठाउँदा १२ जना महिला र ११९ जना पुरुष उम्मेदवार उठाएको छ ।

यस्तै, नेमकिपाले १०९ उम्मेदवार उठाउँदा ९७ पुरुष र १२ जना महिला उम्मेदवार उठाएको छ । सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दलमा नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टी रहन गएको छ ।

यस्तै, मंगोल नेशनल अग्रनाइजेशनले कुल ८८ उम्मेदवार उठाएकोमा ७८ पुरुष र १० महिला उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले कूल ४६ उम्मेदवार उठाएकोमा ३८ पुरुष र ८ महिला, नेकपा एकीकृत समाजवादीले कूल २१ उम्मेदवार उठाएकोमा १ महिला उम्मेदवार र २० पुरुष उम्मेदवार उठाएको छ ।

यस्तै, ८६७ कूल स्वतन्त्र उम्मेदवार मध्ये ७९० पुरुष र ७७ महिला उम्मेदवार रहेका छन् ।