नेकपा समाजवादीलाई जिताउन २५०१ जनाको निर्वाचन परिचालन समिति

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार १७:२८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २ हजार ५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय र अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको जनाइएको छ ।

निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवम् सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवम् जनवर्गीय संगठनका पदाधिकारीहरु रहनेछन् ।

सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णयहरु गर्ने तथा तत्तसम्बन्धमा सम्पादन गर्नुपर्ने कार्यहरु गर्ने छ ।