संविधानको रक्षाको लागि गठबन्धनको जित आवश्यक छ : सभापति बानियाँ

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार १८:००

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।

सभापति बानियाँले कांग्रेस मनहरी गाउँपालिका–६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले कांग्रेस सँधैं दिनदुःखीको सेवामा हरतरहले लागिरहेको बताउँदै यस क्षेत्रमा कांग्रेसले अघिल्लो प्रदेश सभामा जितेपछि धेरै विकास निर्माणका कार्य गरिएको बताए ।

अगुवा कार्यकर्ताहरुको गुनासा र सुझाव सुन्दै नेता बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताउँदै विगत डेढ वर्षदेखि कांग्रेस मन्त्री मण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट यस क्षेत्रमा पार्न सफल भएकाले सत्ता गठबन्धनलाई जिताउँदा मतको अवमूल्यन नहुने बताए ।

कांग्रेस मनहरी–६ का वडा सभापति बाबुराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नं. २ ख का प्रदेश सभापति एवम् मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी ६ का वडा अध्यक्ष युवराज थपलिया, पुराना तथा अग्रज नेता कुलबहादुर नगरकोटीले सत्ता गठबन्धनको आगामी चुनावकेन्द्रित विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।