संविधानका हस्ताक्षरकर्ताहरुलाई मतदान गर्न डीनाको आग्रह
मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवम् मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा सत्तारुढ गठबन्धनको उम्मेदावार महालक्ष्मी उपाध्याय डीनाले संविधानका हस्ताक्षरकर्ताहरुलाई चिनेर मतदान गर्नुपर्ने बताएकी छिन् ।
उनले मंसिर ४ गतेको चुनावमा उठेका उम्मेदवारलाई राम्रासँग चिन्न आग्रह समेत गरिन् । चुनावमा उठेका मध्ये क–कसले लोकतान्त्रिक संविधानको रक्षा गरे र को संविधानको बर्खिलाप गयो भन्ने चिन्न उनको आग्रह थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ गठबन्धन दलले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सह–महामन्त्री डीनाले नेकपा एमालेका अध्यक्ष केपी ओली आफैंले संविधान मास्न दुई दुई पटक संसद विघटन गरेको स्मरण गराउँदै त्यही संविधानको विरुद्धमा संसद बाहिर बसेको राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको बताइन् ।
उनले लोकतान्त्रिक पद्धतीलाई स्थायीत्व दिने कुरामा गठबन्धन दल प्रतिवद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रिक संविधानको पूर्ण कायान्वयनको यात्रामा गठबन्धन दलहरु सँगै रहने बताइन् ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सभा क्षेत्र नम्बर १ क का उम्मेदवार प्रेमबहादर पुलामी छिन्तुले गठबन्धनका उम्मेदवारले जिते मात्रै लोकतन्त्र र संविधानले पूर्णता पाउने दावी गरे ।
उनले जनताकै माया र विश्वासमा स्थानीय निकाय निर्वाचन जितेको स्मरण गराउँदै फेरी पनि साथ र सहयोगको लागि आग्रह गरे ।
नेपाली कांग्रेस ९ नम्बर वडा समितिका सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
