दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १६:३९
file-photo

पोखरा । मनाङबाट प्रदेश सभा सदस्यमा दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि निर्विरोध भएका हुन् ।

गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर, मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पूरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।

मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए ।