मकवानपुरमा कसैले पनि लिएनन् उम्मेदवारी फिर्ता, चुनाव चिन्ह्र आजै प्रदान गरिने

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १५:३०

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका मकवानपुरका ६९ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

निर्वाचन आयोगले आज इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको भएपछि मकवानपुरका विभिन्न पदमा मनोनयन गराएका उनीहरुले उम्मेदवारी फिर्ता नलिएको मकवानपुर क्षेत्र नम्वर १ का मुख्य निर्वाचन अधिकृत ऋिषिराम निरौलाले जानकारी दिए ।

मकवानपुरका दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्र गरी ६ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा प्रतिनिधि सभातर्फ २६ जना र प्रदेश सभातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।

प्रतिनिधि सभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्वर १ बाट २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्वर २ बाट एक जना स्वतन्त्रसहित १० जना गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी, प्रदेश सभा सदस्य पदमा मकवापुर क्षेत्र नम्वर १ (क) मा ८ जना, १ (ख) मा १० जना र क्षेत्र नम्वर २ (क) मा १० जना र २ (ख) मा १५ जना गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरुलाई आजै आ–आफ्नो चुनाव चिन्ह्र प्रदान गर्ने कार्यसूची रहेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।