आसन्न निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार ०९:४२

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने छ ।

कुनै उम्मेदवार कानूनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । त्यसको लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

आयोगका अनुसार, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको छ भने उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म तोकिएको छ ।

आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली २६ प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका रहेको छ ।