आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको उम्मेदवारी दर्ता हुँदै

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार ०८:३१

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगका अनुसार, उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिनेछ ।

त्यस्तै, भोलि असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नै नामावली प्रकाशन हुनेछ । यसैगरी, असोज २६ गते उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् । अन्तिम नामावली पनि सोही दिन प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ गतेलाई तोकेको थियो । प्रतिनिधि र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।