मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उक्त कार्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्वर– २ स्थित जिल्ला विकास समिति (साविकको) भवनमा शनिबार स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेलेसंयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेल, निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु एवम् विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर जिल्लामा प्रतिनिधि सभाको दुई वटा र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्र रहेका छन् ।
