आजको मौसम : भारी वर्षाको सम्भावना
२०७९ भाद्र २२, बुधबार ०९:३१
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
