आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार ०८:५८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।