चुनावी अभियानका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटायो
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संचालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले देशभर प्रतिनिधि खटाएको छ । कांग्रेसले यही भदौ १० गतेदेखि संचालन हुने ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।
उक्त अभियानका लागि डोल्पा र हुम्लाबाहेक सबै जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन् । केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन । प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ ।
प्रतिनिधिहरुले जिल्लामा पुगेर मातहतका संरचनाको बैठक राखी कार्यक्रम तय गर्नेछन् । जिल्ला समिति, महासमिति प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा लगायत तल्लो तहका संरचनाको बैठक आह्वान गर्नेछन् । जनताका समस्या सुन्ने, कांग्रेसले गरेका सुधारका कार्य जनतालाई जानकारी गराउने तथा तालमेलको आवश्यकता बारे नागरिकलाई अवगत गराउने उद्देश्यसहित अभियान संचालन गर्न लागिएको जनाइएको छ ।
